डिल्लीबजारमा किराना पसल थापेर बसेका रमण पराजुलीलाई मैले चिनेको धेरै वर्ष भयो । ०४६ सालको जनआन्दोलनमा पुलिसको आक्रमणबाट भाग्दै उनको पसलमा शरण लिन पुगेको थिएँ । मसँगै अरू दुईजना युवा मित्रहरू पनि थिए । रमणले हामीलाई पसलमा हुलेपछि सटर बन्द गरेको र चाउचाउ, बिस्कुट र दाल, चामलका प्याकेटको बीचमा बसेर राजनीतिबारे गफ गरेको अझै झल्झली सम्झन्छु । 'तपाईंहरूजस्ता युवाहरू जागरुक भएपछि देशमा लोकतन्त्र अवश्यै आउँछ,' पैंतालीस/छयालीस वर्ष जतिका अधबैंसे रमणले हामीतिर हेर्दै भनेका थिए, 'आममानिसको राजनीतिक चेतना जति बढ्यो, त्यति नै शासकहरूले जनतालाई ढाँट्न गाह्रो हुन्छ ।'
त्यसपछि रमण दाइसँग मेरो थुप्रैचोटि भेट भयो । डिल्लीबजार हुँदै मैतिदेवी वा पुरानो बानेश्वरतिर जाँदा म कहिलेकाहीँ उनको पसलमा गफ गर्न वा चिया पिउन छिर्थेँ । मित्रता बाक्लिँदै गएपछि बुझेँ- रमणजीका दुईवटा सोख रहेछन् । पहिलो, दिनभरि रेडियोमा समाचार सुनेर देश-विदेशका राजनीतिहरू बुझ्नु । र दोस्रो, साँझमा हलमा गएर हिन्दी फिल्म हेर्नु । उनको बाल्यकाल विराटनगरमा बितेको र त्यहाँका हलमा हिन्दी फिल्महरू लागिरहने भएकाले यस्तो बानी लागेको कुरा पनि उनैले खुलस्त गरे । 'दिनभरि त पसलले गर्दा समय नै पाउँदिनँ,' उनले भने, 'बेलुकाको सो हेर्न हप्ताको दुईचोटि जति जयनेपाल वा कुमारीतिर जान्छु ।'

केही दिनअघि पुनः रमणजीसँग भेट भयो । त्यो दिन उनको पसलमा हरबखत सानो स्वरमा बजिरहने रेडियो बन्द थियो र रमणदाइ केही सोचेको जस्तो मुद्रामा बसेका थिए । मलाई देख्नेबित्तिकै भने- भाइ रेडियो अखबारका खबरमार्फत केही थाहा पाइँदो रहेनछ । बाहिर एउटा खबर आउँछ, भित्रभित्र दुई-चारजना मुख्य नेता मिलेर छुट्टै निर्णय गर्दा रहेछन् । भित्र के निर्णय हुन्छ, कसले गर्छ, किन गर्छ, त्यो त हामी आममानिसलाई थाहै नहुने रहेछ । यो कुरो मैले भर्खरै कुमारी हलमा 'राजनीति' भन्ने फिल्म हेरेर आएपछि बुझेँ ।

एक हप्ता जति अघि म स्वयम् पनि केही मित्रहरूसँग अहिले चर्चामा रहेको हिन्दी फिल्म 'राजनीति' हेर्न गएको थिएँ । फिल्मको विषयवस्तु सम्झेँ- महाभारतको कथा तथा अंग्रेजी फिल्म, गडफादर दुवैबाट प्रभावित भनेर कहलिएको 'राजनीति' ले दुईवटा राजनीतिक समूह तथा तिनका नेताहरूबीचको द्वन्द्वलाई चित्रित गरेको छ । भित्रभित्र चरम द्वन्द्व, अन्तरघात तथा आपसी संघर्षमा जेलिएका महत्त्वाकांक्षी नेता आमजनतासामु अत्यन्त विनम्र र चरित्रवान पात्रको रूपमा देखा पर्छन् । एउटा नेतालाई गोली हानिन्छ, उसको स्थान ओगट्न अर्काे नेता आइपुग्छ । उसले पनि अघिकै नेताझैं जनताको निम्ति मर्ने, बाँच्ने प्रण गर्छ । आमजनताले थपडी बजाएर उसको स्वागत गर्छन् । अन्तरसंघर्ष अझै चर्कन्छ । दोस्रो नेताको पनि हत्या हुन्छ, तेस्रो अगाडि आउँछ । उसले पनि सुशासन र समाजकल्याणका तिनै वाचा दोहोर्‍याउँछ जुन पहिलेका नेताले गरेका थिए । आमजनताले एकपल्ट पुनः जोडदार थपडी बजाएर नयाँ नेताको स्वागत गर्छन् । यसअघिका नेतालाई स्वागत र समर्थन गरेझैं ।

'राजनीति' हेर्दाहेर्दै त्यसको पृष्ठभूमिमा रहेको महाभारतको कथानक सम्भिmएँ- महाभारतमा पनि त कौरब र पाण्डव समूहमा विभाजित 'राजनीतिक नेताहरू' को पक्षमा लड्न हजारौं सैनिक र आमजनता जम्मा भएका थिए । कौरब र पाण्डव दुवैथरी त्यस मिथकीय कालका सामन्तहरू थिए । दुवै पर्दापछाडि राजनीतिक संघर्षका गोटीहरू सजाउँथे । भित्रभित्रै संघर्ष हुन्थ्यो, अन्तरसंघर्ष र अन्तर्घात पनि हुन्थ्यो । के त्यसबेलाका 'जनता' लाई ती भित्रभित्रै चल्ने राजनीतिक गोटीबारे पर्याप्त जानकारी हुन्थ्यो होला त ? बीपी कोइरालाको लघु उपन्यास मोदीआइन सम्झन पुगेँ- कोइरालाले महाभारतको महायुद्धमा होमिएका साधारण सैनिक र तिनका परिवारको मनोदशालाई अभिव्यक्त गर्ने जमर्काे गरेका छन् । मोदीआइनले देखाउँछ- आममानिसलाई पर्दा पछाडि चल्ने राजनीतिका दाउपेच, संघर्ष र षड्यन्त्रबारे थोरै मात्र ज्ञान हुन्छ । आममानिस त प्रायःजसो राजनीतिक प्रचारबाजीको संयन्त्रले चाहेका 'अर्धसत्य' हरूलाई नै पूर्ण र अन्तिम सत्य मानेर सडकमा ओर्लिएका हुन्छन् । कहिले अर्काका युद्ध लड्न त कहिले अर्काका निम्ति थपडी बजाउन ।

सामन्तवादको संरचनाभित्र शासकहरूले नै रैतीहरूको भाग्यबारेको निर्णय लिन्थे । राणाकाल र पञ्चायतकालमा त्यही हुँदै आयो । २०४६ सालको जनआन्दोलनपछि रैतीबाट जनता बन्न थालेका आममानिसलाई भनियो- प्रजातन्त्रमा जनताले आफ्नो निर्णय आफैं गर्छ, आफ्नो भाग्य आफैं कोर्छ । शासक भनेको त केवल जनताको प्रतिनिधि हो । प्रजातन्त्रमा जनताले आफ्नो शासन आफैं गर्छ ।

२०४६ देखि २०६७ सालसम्म आइपुग्दा थुप्रै ठूला-साना परिवर्तन भए । व्यक्तिगत रूपमा भन्नुपर्दा २०४६ सालमा युवा कहलाइएको म ४० को मध्यतिर पुगेँ । त्यसबेला अधबैंसे रहेका रमण दाइ ६० नाघ्दै वृद्धावस्थामा प्रवेश गरे । यी स-साना व्यक्तिगत परिवर्तन थिए । समयको अन्त्यहीन सतहमा देखिएका स-साना थोप्लाहरू । यीभन्दा असंख्य गुणा ठूला राजनीतिक र सामाजिक परिवर्तनहरू भए- माओवादी जनयुद्ध भयो, राजा-रानी मारिए, संविधानसभाको चुनाव भयो । पहिले माओवादी र त्यसपछि गएर एमालेको नेतृत्वमा सरकार बन्यो । समयमा संविधान लेख्न नसकेपछि संविधानसभाको म्याद एक वर्षको निम्ति थपियो । तीनबुँदे सहमतिअनुरूप माधवकुमार नेपालले प्रधानमन्त्रीको पदबाट राजीनामा दिए । अहिले राष्ट्रिय सरकारको गठन र शान्ति प्रक्रियाको मुद्दामा कुरो अड्किएको छ ।

समयको प्रवाहलाई कसैले रोक्न सक्दैन । समयको प्रवाहसँगै राजनीतिको चक्र पनि चल्दै जानेछ । एक न एक दिन माओवादी पार्टी पनि पूर्ण रूपले नागरिक पार्टीमा रूपान्तरित होला । नयाँ संविधान पनि लेखिएला । तर यी सबै परिवर्तनहरूमा आमजनताको सहभागिता कस्तो हुनेछ । के ती जनताले पर्दापछाडि चल्ने शक्तिसंघर्षको गोटीचाल बुझ्दै त्यहीअनुसारको राजनीतिक सचेतताको विकास गर्न सक्लान् त ? कि पाँच वर्षमा एकपल्ट भोट खसाएर 'लोकतान्त्रिक' भयौं भनेर गर्व गर्न श्रापित जनता एकपल्ट पुनः थपडी बजाउने र विजयी जुलुसमा भीड बढाउने अलिखित पात्रको रूपमा मात्र देखा पर्नेछन् ?

जेठ १४ मध्यराततिर संविधानसभाको म्याद थपिँदा एउटा अचम्मको परिदृश्य देखियो । प्रमुख पार्टीहरूका आठ-नौजना मुख्य नेताहरूबाहेक अरू धेरैलाई 'अब के होला' भन्ने प्रस्ट ज्ञान थिएन । संविधानसभाका केही माननीय सदस्यहरू त उक्त प्रश्नको जवाफ पत्रकारहरूसँग खोज्दै गरेकासमेत देखिए । यदि ६०१ जना सदस्य भएको जम्बो संविधानसभाका सदस्यलाई समेत पर्दापछाडिको चाल-प्रतिचालबारे थाहा हुँदैन भने आमजनतालाई राजनीतिको चौसरमा बिछाइएको गोटीहरू कता चल्दै छन् भन्ने कसरी जानकारी हुन्छ ?

अहिले शान्ति प्रक्रिया तथा राष्ट्रिय सरकारका गठनका कुरा मुख्य बनेका छन् । सामन्य दृष्टिले हेर्दा त कुरो प्रस्ट छ- तीनबुँदे सहमतिअनुसार माधव नेपालले ढिलै भए पनि राजीनामा दिए । अब माओवादीले पनि शिविरमा रहेकामध्ये कतिलाई सेना वा प्रहरीमा समायोजित गर्ने भनेर प्रस्ट संख्या तोक्नुपर्‍यो । वाईसीएलको अर्धसैन्य संरचना भङ्ग गर्ने र जनयुद्ध दौरान कब्जा गरिएका सम्पत्ति फिर्ता गर्नेबारे पनि स्पष्ट समयतालिका सार्वजनिक गर्नुपर्‍यो । साथसाथै राष्ट्रिय सरकारको पनि गठन हुनुपर्‍यो । तर के यसो होला त ? केही सकारात्मक संकेतहरू देखिएका छन् । तर, यसपल्ट पनि राजनीतिको पर्दापछाडि हामीले नदेख्ने अन्य थुप्रै गोटीहरू चल्दै छन् कि ? दाहाल, भट्टराई र वैद्यका गुटहरूबीच भित्रभित्रै के कस्तो समीकरण बन्दै छ ? अनि पौडेल, कोइराला र देउवाका गुटहरूबीच नि ? भर्खरै झलनाथ खनालले केपी ओलीलाई एमालेको वार्ताटोलीको संयोजक पदबाट हटाएका छन् । अब के ओलीले दिल्ली दरबारको समर्थनमा नयाँ चाल चल्नेछन् ? त्यसो भएमा दाहालले प्रतिचालको रूपमा कस्तो 'राष्ट्रवादी' गोटी फ्याँक्नेछन् ?

मैले दलहरूका सबै नेता र कार्यकर्ता स्वार्थी, आत्मकेन्दि्रत वा असक्षम छन् भन्न खोजेको होइन । हरेक दलभित्र केही विद्वान् विचारकहरू छन् । सक्षम युवा नेताहरू पनि छन् । तर पार्टीहरूका संरचनाभित्र तिनको केकस्तो स्थान छ त ? कि ती सक्षम कहलाइएका नेताहरू पनि हामी आमजनताझैं नेपाली राजनीतिको महाभारत बुझ्न नसकी अलमलमै परिबसेका छन् ? कि बुझेकै भए तापनि केही गर्न नसकी राजनीतिको गोटीचाल तथा घात-प्रतिघातलाई परबाट हेर्दै विवश भई बसेका छन् ?

विगतका अनुभवका आधारमा विचार गर्दा के लाग्छ भने योपल्ट पनि हामी आमजनताले पर्दापछाडि चल्ने षड्यन्त्र, सम्झौता तथा घात-प्रतिघातका शृंखलाहरूलाई बुझ्न सक्नेछैनौं । ती घात-प्रतिघातबारेका केही खबर बाङ्गोटिङ्गो भएर, रूप परिवर्तन गरेर जनतासमक्ष आउनेछन् । अन्य कति खबर पर्दापछाडि नै रहनेछन् । आमजनता मिडियामार्फत रसाएका आंशिक सत्यका थोपालाई नै सागर सम्झेर बस्नेछन् । आ-आफ्नो नेताको समर्थनमा पुनः थपडी बजाउनेछन् । आ-आफ्ना दलका जुलुसमा सहभागी हुँदै 'लोकतान्त्रिक' बनेकोमा गर्व महसुस गर्नेछन् ।

राजनीतिप्रतिको रमण दाइको मोहभङ्ग त्यसै भएको होइन । उनी २०३६ देखि २०४६ हुँदै २०६२/६३ सम्मका सबै जनआन्दोलनहरूमा सहभागी थिए । युवाहरूलाई राजनीतिक रूपले जागरुक भइरहन सल्लाह दिन्थे । दिनभरि किराना पसलको रेडियोको च्यानल परिवर्तन गर्दै राजनीतिक समाचार सुन्दै बस्थे । तर वषर्ाैंसम्म राजनीतिको 'थ्री डायमेनसनल' गोटी चाललाई परबाट हेर्दै गएपछि रमणले बुझे- राष्ट्रको राजनीति फिल्ममा देखाइएको राजनीतिबाट खासै फरक रहेनछ । दुवैमा भित्रभित्रै निर्णय गर्ने एकथरी हुँदा रहेछन् । र, बाहिर थपडी पड्काउने र गोली खाने अर्कैथरी ।

छुट्टनिे बेलामा रमणदाइले भने- 'फिल्मबाट कैयौं कुरा सिक्न सकिँदो रहेछ । राजनीतिपछि अब अर्काे फिल्म रावण हेर्ने विचार गर्छु ।' रमण दाइझैं मैले पनि रावण हेरेको छैन । हेर्छु-हेर्दिनँ थाहा छैन । तर रावणको कुरा गर्दा सधैं १० वटा टाउको भएको त्यस मिथकीय पात्रलाई सम्झन्छु । भनिन्छ- रावणको एउटा टाउको काटिएमा त्यही ठाउँमा अर्काे टाउको उम्रन्थ्यो रे । त्यसैले उसलाई परास्त गर्न अत्यन्त गाह्रो थियो । यस्ता रावणहरू रामायणका कथामात्र नभएर संसारका विभिन्न राजनीतिक रङ्गमञ्चहरूमा बारम्बार प्रकट हुँदै आएका छन् । जबजब लोकतन्त्रको ह्रास हुन्छ तब नयाँ रावणको उदयको सम्भावना झन् टड्कारो बन्छ । जर्मनीमा हिट्लर तथा इराकमा सद्दाम हुसेनजस्ता शासकहरू आधुनिक राजनीतिक रावणका थुप्रैमध्ये दुईवटा उदाहरणमात्र हुन् । अन्त्यमा सबै रावणहरूको पराजय हुने भएको भए तापनि केही समयसम्म भने तिनले निरंकुशताको राजनीति गरेर लोकतन्त्रलाई ठूलै आघात पुर्‍याउँछन् । के नेपालका आमजनताले देशका मुख्य मुद्दाहरूबारेका निर्णय बुझ्ने, तिनमा आफ्नो सहभागिता जनाउने लोकतान्त्रिक अधिकार पाउलान्

त ? कि पाँच वर्षमा एकपटक भोट खसाउँदै प्रजातान्त्रिकबाट 'लोकतान्त्रिक' बनेकोमा गर्व गर्ने नेपाली जनता एकपटक पुनः पर्दापछाडिका जोड-घटाउका गणित बुझ्न नसकी ट्वाल्ल परेर बसिरहनेछन् ? पर्दाभित्र कर्ण र अर्जुन, कृष्ण र दुर्याेधनले नयाँनयाँ चाल चलिरहनेछन् । पर्दाबाहिर ती चाल-प्रतिचाल, घात-प्रतिघात बुझ्न नसकेका आमजनता भने लगातार थपडी बजाइरहनेछन् । नारा घन्काइरहनेछन् । यसो भएमा लोकतन्त्रको अवसान हुनेछ । राजनीति नीतिविहीन बन्दै जानेछ । आठ/ दसजना नेताहरूबीचको संघर्ष र गोप्य सम्झौताको फलस्वरूप सम्पूर्ण राष्ट्रको राजनीति चल्दै जानेछ । नयाँ रावणको उदयको पृष्ठभूमि तयार हुनेछ ।

0 comments:

Post a Comment

  © Blogger template Webnolia by Ourblogtemplates.com 2009

Back to TOP